Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

लमजुङको पाउँदीमा २ करोड ५० लाखको लागतमा बन्यो १०८ फिट अग्लो महादेवको मूर्ति

 लमजुङस्थित सुन्दरबजार नगरपालिका–७ पाउँदीमा १०८ फिट अग्लो सिद्धेश्वर महादेवको मूर्ति निर्माण भएको छ।  कर्मदा नदीका शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङदी नदीनजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउन यति अग्लो महोदवको मूर्ति निर्माण गरेको हो।

समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलले महादेव मूर्तिसहित सो परिसरमा भगवान गणेश, विष्णु, शिवको वाहन नन्दी (बसाहा) को मूर्तिसमेत निर्माण गरिएको बताए। काठमाडौँ र पोखराबाट कालीगढ ल्याएर मूर्ति निर्माण गरिएको उनको भनाइ छ। त्यसका लागि २ करोड ५० लाख खर्च भएको जानकारी उनले दिए।

मूर्तिमा रङरोगन पनि गरिसकिएको छ। सोही परिसरमा १०८ शिवलिङ्ग र १०८ धारा निर्माण गर्न लागिएको छ। धाराका लागि पर्खाल बनाइसकिएको छ। राइनास नगरपालिका–९ मोहोरियाकोटबाट करिब ६ किलोमिटर टाढाबाट धाराका लागि पानी ल्याउन लागिएको छ। हालसम्म २ किलोमिटरमा पाइप बिच्छ्याइएको छ भने धारा निर्माणस्थलछेउमा १ लाख लिटरभन्दा बढी पानी अट्ने एउटा पानी ट्याङ्की बनाइएको छ। 

समितिको नाममा रहेको ११ रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ। धारा तथा शिवलिङ्ग व्यक्तिको नाममा र पितृहरुको नाम राखिने र यसका लागि न्यूनतम ११ हजार १११ रुपैयाँ तिर्नुपर्ने समितिले जनाएको छ। बाँकी काम असोज महिनाभित्र सकिने र आगामी ठूलो एकादशीका दिन उद्घाटन गर्ने तयारी भइरहेको छ।

उनका अनुसार महादेवको मूर्ति स्थापनाका लागि हालसम्म १४ लाखभन्दा बढी रकम चन्दाबाट सङ्कलन भएको छ।  यहाँ मर्स्याङदी नदीमा स्नान गर्न, सतबीज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन्।  डुम्रे–बेँसीशहर सडकनजिकै तथा लमजुङ-तनहुँको सिमानामा पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँका व्यापार व्यवसायमासमेत टेवा पुग्ने स्थानीयको भनाइ छ । 

यो क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको छ। महादेवको मूर्ति तथा १०८ धारा र शिवलिङ्ग निर्माणले धार्मिक रुपमा मात्र नभइ पर्यटकीय गतन्यका रुपमा विकास हुने सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए।