Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सिमलताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत, अझै ४७ जना भेट्न बाँकी

भारतीय सीमावर्ती जिल्लामा समन्वय

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ । 

सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान ९ः३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ । दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ । भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ । 

यसैगरी चिवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ । 

उनीहरुको शव आफन्तले बुझिलगेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । छ पुरुष एक महिला गरी सात जनाको शव अझै सनाखत हुन सकेको छैन । उनीहरुको शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा फेला परेका हुन् ।  गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो । 

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । टिकट नकाटी बसमा यात्रा गरेका यात्रीका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा ६५ यात्रु सवार रहेको खुलेको छ ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात घर फर्केका छन् भने रौतहटकै देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता थापाले जानकारी दिए ।

भारतीय सीमावर्ती जिल्लामा समन्वय
नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तर प्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका डिएमसँग समन्वय गरिएको हो ।

यादवले आफूले पश्चिम चम्पारण र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारीले महाराजगञ्जका डिएमसँग समन्वय गरिरहेको बताए । नदीमा शव भेटिएमा जानकारी दिन दुवै डिएमलाई आग्रह गरिएको यादवले जानकारी दिनुभयो । उनका अनुसार हालसम्म शव भेटिएको कुनै जानकारी आएको छैन । गण्डक ब्यारेजसम्म शव पुगेपछि त्यहाँबाट पारिसमेत जान सक्ने भएकाले समन्वय गरिएको उनले बताए । 

सीमा जोडिएका जिल्लासँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार भए पनि पत्राचार गर्नुपरेमा परराष्ट्र मन्त्रालयमार्फत जानुपर्ने भएकाले तत्कालका लागि मौखिकरुपमा कुराकानी गरिरहेको उनले बताए । त्रिशूली नदी नारायणीमा मिसिएर त्रिवेणी हुँदै भारततर्फ बगेको छ । नदीमा बाढी आइरहेकाले शव भारत पुग्न सक्ने अनुमान गरिएको हो ।  

यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको वाग्मति प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । 

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म १५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । घटनाको विषयमा अध्ययन गर्न गृहमन्त्रालयले सोमबार गठन गरेको कार्यदलले बुधबार स्थलगत रुपमा अध्ययन गर्ने भएको छ ।