Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

शिक्षामन्त्री विद्या भट्टराईको प्राथमिकतामा नयाँ शिक्षा ऐन निर्माण

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा ऐन निर्माणलाई प्राथमिकता दिने बताएकी छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको ऐनलाई छिटोभन्दा छिटो टुङ्गोमा पुर्‍याइ हाल देखिएका समस्या समाधान गर्ने बताइन् ।

पदभार ग्रहण गर्दै उनले स्थानीय आवश्यकतामा आधारित विद्यालय पोषण प्रारुप विकास कार्यक्रम कार्यान्वयनसम्बन्धी पहिलो निर्णय गरिन् । उनले उक्त कार्यक्रममा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयनका लागि मन्त्रालयको विद्यालय शिक्षा महाशाखा हेर्ने सहसचिवको संयोजकत्वमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि सम्मिलित समिति गठन गर्ने निर्णय गरिन् । 

त्यसअवसरमा उनले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारमा आफू केन्द्रित रहने समेत उल्लेख गरिन् । ‘सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय छैन, सार्वजनिक शिक्षाप्रति आकर्षण बढाउने गरी काम गर्ने मेरो दायित्व हो’, उनले भने । उनले विश्वविद्यालयको शिक्षाप्रतिको आकर्षण पनि घट्दै गएको उल्लेख गर्दै भनिन्, ‘विश्वविद्यालयमा शैक्षिक पात्रो निर्माण गरी त्यसको कार्यान्वयनमा जोड दिने छु, साथै युवामा नेपालका विश्वविद्यालयमा पढेर स्वदेशमै काम गर्छु भन्ने विश्वास दिलाउने गरी काम गर्नेछु ।’

बुबा हेमराज भट्टराई र आमा टोपकुमारी भट्टराईको कोखबाट विसं २०२९ सालमा जन्मिएकी भट्टराई विसं २०४६ सालबाट विद्यार्थी आन्दोलनमा सक्रिय भएकी हुन् । पद्मकन्या क्याम्पसमा अध्ययन गर्दा विद्यार्थी आन्दोलनमा होमिएकी उनी विसं २०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुख भएर उनले काम गरिसकेकी छन् ।

उनले विसं २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेवारी लिएर काम गरिसकेकी छन् । उनी विद्यार्थी आन्दोलनमा छँदै प्राध्यापनमा लागेकी थिइन् । विसं २०७२ सालदेखि रत्नराज्य क्याम्पसमा उनले स्थायी रुपमा उपप्राध्यापकको जागिर सुरु गरेकी थिइन् । विसं २०७५ साल फागुनमा हेलिकोप्टर दुर्घटनामा परी उनका श्रीमान् तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको असामयिक निधनपछि रिक्त भएको कास्की–२ को उपनिर्वाचन र २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित भएकी थिइन् । उनी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य समेत छिन् ।