Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बससँगै त्रिशूलीमा बेपत्ता ६२ मध्ये १३ जनाको शव भेटियो, आठको सनाखत

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता दुई बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये आठ शवको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

सनाखत भएका सातमध्ये तीन वटा शव भारतीय नागरिकका हुन् । अरू मृतक नेपाली नागरिक हुन् ।हराइरहेका अरू यात्रु तथा दुवै बसको खोजी जारी छ । खोजीका लागि आज उच्च प्रविधिको सोनार डिभाइस पनि प्रयोग भइरहेको छ । यो डिभाइसले साउन्ड वेभमार्फत पानीमुनि दुई सय मिटर तलसम्मको वस्तु देख्न सक्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।

काठमाडौंबाट गौरतर्फ र वीरगञ्जबाट काठमाडौंतर्फ गुडिरहेका दुई वटा बसलाई शुक्रवार बिहानै पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेका थिए । ती बसमा कम्तीमा ६५ यात्रु चढेका जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । ६५ जनामध्ये काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन यात्रु झ्यालबाट हामफलेर जोगिएका थिए ।

आज बिहान भेटिएका चारमध्ये दुई वटा शव गण्डक नहरको भारततर्फको क्षेत्रमा भेटिएका हुन् । अहिले घटनास्थलभन्दा ५० किलोमिटर तलसम्म खोजी भइरहेको छ । खोजीका लागि र्‍याफ्टिङ बोट, दुरबिन र पानीभित्र हेर्न मिल्ने खालका क्यामेराहरू जडान गरिएका उपकरण पनि प्रयोग गरिएका छन् । तर पानी धमिलो भएकाले पानीभित्र हेर्ने क्यामरा खासै उपयोगी नभएको खोजकर्ताहरूको भनाइ छ । आज प्रयोग भएको सोनार डिभाइसले तरङ्गमार्फत वस्तु पहिल्याउन सक्ने भएकोले सहयोगी हुने अपेक्षा छ ।