Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

त्रिशूली नदीमा बेपत्ता भएका यात्रुमध्ये ११ जनाको शव भेटियो

बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ। चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन नसकेका शवहरू मध्ये तीन वटा भरतपुर अस्पताल र तीन वटा परासी अस्पतालमा राखिएको छ। पहिचान भएपछि ती शव पोष्टमाटम गर्दै परिवारलाई बुझाइने छ।

शुक्रवार भएको दुर्घटना पछि अहिले सम्म फेला परेका शवहरू मध्ये सनाखत भएकामा भारत वेतियाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितवन माडीका विकाश परियार, सर्लाही वरथहवाका रमितकुशर माझी र भारत विहारका ऋषि पाल रहेका छन्।

यता दुर्घटना ग्रस्त बस अझै भेट्न सकिएको छैन। आज चौथो दिन पनि नेपाल प्रहरी, शससत्र प्रहरी र नेपाल प्रहरीले  खोजी कार्य जारी राखेको छ। आइतबार चितवन आएका गृह सचिव एकनारायण अर्यालले बस खोज्न अब भारत वा चीनबाट विशेष उपकरण ल्याउने तयारी  भइरहेको जानकारी दिएका थिए। 

गत शुक्रवार बिहान काठमाडौँ गौरको बस र वीरगन्ज काठमाडौँको बस भरतपुरको सिमलतालवाट त्रिशूलीमा खस्दा बेपत्ता छ। पहिरोले बगाएर बेपत्ता भएको सो बसमा ६५ जना यात्रु थिए। जस मध्ये ३ जना पौडिएर बाच्न सफल भएका छन्। 

त्रिशूलीमा बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन
चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन्। बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन्।

सशस्त्र प्रहरीले दुर्घटनास्थल सिमलतालमा प्रहरी निरीक्षकको नेतृत्वमा २५, चनौली इलाकामा नं १७ गणका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११, गोलाघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ‘र्‍याफ्याटिङ बोट’ सहित १५, देवघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० र भरतपुरको पुल्चोकस्थित नारायणी नदी किनारमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा नौ जना परिचालित भएका छन्।

त्रिशूली नदीमा पानीको मात्रा अत्यधिक र पानी धमिलो भए पनि खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ। उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन्।

भिडियो: