'जिम्मेवारी आएको छ, सफलतासाथ पूरा गर्छु'
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेले ओलीलाई आज बिहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।
एमाले अध्यक्ष रहेका ओलीलाई राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेका सांसदहरुको समर्थनमा ओली प्रधानमन्त्री भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चपलीस्थित निवासमा भेटेर निजी निवास बालकोटमा फर्किएपछि उनले यस्तो बताएका हुन् ।
‘मलाई जिम्मेवारी आएको छ, सफलतासाथ पूरा गर्छु,’ उनले भने, ‘यो जिम्मेवारी बहन गर्न गम्भीरतापूर्वक लिएर अघि बढ्छु ।’ ओलीले देशमा अहिले भइरहेको बाढीपहिरोको बिपत्तिबारे तत्कालै समीक्षा गरेर समाधानका उपाय खोज्न पहल गरिने बताएका छन् । बाढीपहिरोको संकटका बेला सरकार फेरबदलमा लागेको भन्दै दलहरूको आलोचना भइरहेको छ।
प्रधानमन्त्री ओलीले आजै कांग्रेस र एमालेका मन्त्रीहरु सामेल गरेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी छ ।