Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः रवि लामिछाने (भिडियोसहित)

‘हामीलाई लागेको होला के–के नै गर्‍यौं तर, हाम्रा कामबाट नागरिक पटक्कै खुशी छैनन्’

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निः संकोच अनुसन्धान अघि बढाउन आग्रह गरेका छन् । 

गृह मन्त्रालयमा आज भएको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आजसम्म स्वतः प्रभावित हुनु भएको भए पनि अब मेराबारे पनि अनुसन्धान गर्नूस् । गलत गरेको भए कानुन मलाई पनि लाग्नुपर्छ ।’ नक्कली भूटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निष्पक्ष र प्रभावकारी रुपमा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए । 

सरकार परिवर्तन अनौठो कुरा नभएको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सरकार परिवर्तनको प्रभाव प्रहरी, कर्मचारी प्रशासनमा पर्न नहुने भएकोले सोको प्रभाव नपार्न गृह र सुरक्षा अधिकारीसँग आग्रह गरे । अनुसन्धान जारी रहेकाले सुनकाण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेको उनले जानकारी दिए । 

‘हामीलाई लागेको होला केके नै गर्‍यौ‌ तर हाम्रा कामबाट नागरिक पटक्कै खुशी छैनन् । नागरिक सन्तुष्ट नभएसम्म हामीले कामको प्रगति विवरण भनेर बुँदाहरु थप्दै सार्वजनिक गर्नुको के रहँदैन’, गृहमन्त्री लामिछानेले भने । सरकार परिवर्तन हुनुको, मन्त्री आउनु र जानुको प्रभाव आमनागरिकमा पर्न नहुने भन्दै कानुनअनुसार काम गर्न मन्त्री परिवर्तनले केही फरक नपार्ने उनको भनाइ छ ।

चार महिनामा धेरै काम गर्न नसकिएको बताउँदै केही आधार भने तयार भएको गृहमन्त्री लामिछानेले बताए । तयार भएको आधारलाई भत्किन नदिन सरोकार भएकालाई अनुरोध गर्दै उनले नयाँ मन्त्रीले पनि बनेका आधारलाई सकारात्मक रुपमा ग्रहण गर्ने विश्वास व्यक्त गरे ।

भिडियो: