Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

प्रहरीको जागिरबाट अवकाशपछि बङ्गुर, बाख्रा र कुखुरापालनः वर्षकै २० लाखसम्म कमाइ

दाङ तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनी २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहेका छन् । 

उनले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गरेका छन् । करिब १० लाख लागतमा उनले व्यवसाय सुरु गरेका हुन् । स्थानीयस्तरमै स्वरोजगार बन्नुपर्ने भन्दै आफूले  काम प्रारम्भ गरेको बताए । ‘धेरै मान्छे स्वदेशमा श्रम नगरेर विदेश जाने गर्छन्, तर यहाँ नै परिश्रम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ’, थापाले भने । उनले वार्षिक रु १५-२० लाख आम्दानी गर्दै आएको बताए ।

२० वर्ष सशस्त्र प्रहरी बल नेपालमा  सेवा गरेका थापा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेत रहेका उनी भन्छन्, ‘मैले समाजको सेवा गर्ने प्रण गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिए’, उनले भने, ‘अब समाजलाई सकेको सहयोग गर्छु ।’