Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सिमलताल पहिरोः नवलपुरमा भेटियो सर्लाहीका रमितको शव, अर्का एकको पहिचान बाँकी

पूर्वी नवलपरासीको गैंडाकोटस्थित नारायणी नदी किनारमा भेटिएका दुईमध्ये एक पुरुषको शव चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता गणपति डिलक्सका यात्रु भएको पुष्टि भएको छ ।  

एक शव सर्लाही बरहथवा नगरपालिका–३ बस्ने वर्ष १९ का रमितकुशर माझीको भएको खुलेको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनका बुवा रविन्द्र कुशर माझीले छोराको शव पहिचान गरेका हुन् । उनी काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्सका यात्रु हुन् । गैँडाकोटमै फेला परेको अर्को शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

आज दिउँसो माछा मार्ने बोटेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गैंडाकोटमा प्रकृति मुचुल्का उठाइ शव पहिचानका लागि चितवन ल्याइएको थियो । एक शव खुट्टामा जुत्ता र भित्री वस्त्र मात्रै रहेको अवस्थामा भेटिएको छ भने अर्को शव गाडिएको अवस्थामा भेटिएको थियो ।

यसअघि आज विहान जिल्लाको भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदी किनारमा सिमलताल पहिरोले बगाएको बसका यात्रु भारतीय नागरिक ऋषिपल साहको शव भेटिएको थियो । भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौँको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स चढेका थिए ।

काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस लेदोसहितको पहिरोमा परेर त्रिशूली नदीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव हाम फालेर ज्यान जोगाएका थिए ।

प्रहरीले बेपत्ता बस र यात्रुको खोजीका लागि विपद् उद्धारका सबै शक्ति लगाइएको जनाएको छ । आज सशस्त्र प्रहरीको गोताखोर टोलीले ‘स्नेक आइ’ क्यामराको सहयोगमा खोजी गरिरहेको छ । उक्त क्यामराले पानीमुनिका वस्तु पहिचानमा सहयोग गर्छ ।

शुक्रबार विहान अन्दाजी ३ बजेतिर नारायणजगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा माथिबाट खसेको पहिरोसँगै बगेका यात्रुसहितका दुई बस त्रिशूली नदीमा बेपत्ता भएको हो । दुवै बसमा ५४ यात्रु रहेको खुले पनि संख्या थोरै घटबढ हुनसक्ने प्रहरीले जनाएको छ ।  

सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् । एञ्जल वीरगञ्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोसँगै त्रिशूली नदीमा खसेका हुन् ।