Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

गैंडाकोटमा भेटिए दुई शव, त्रिशूलीमा बेपत्ता बसका यात्रु भएको अनुमान

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडक खण्डको सिमतालमा पहिरोसँगै त्रिशूली नदीमा बपेत्ता दुई वटा बसका यात्रुमध्ये दुई जनाको शव पूर्वी नवलपरासीमा फेला परेको छ । 

शुक्रबार बिहान दुई वटा बस बेपत्ता भएका थिए । शनिबार तीन वटा शव भेटिएका हुन् । एक शव चितवनस्थित गोलाघाटमा भेटिएको थियो भने दुईवटा शव पूर्वी नवलपरासीमा भेटिएका हुन् । पूर्वी नवलपरासीको गैंडाकोट नागरपालिका–७ स्थित नारायणी नदीमा दुई जना पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । नारायणी नदी किनारामा एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  

यी दुबै शवको सनाखत भने हुन सकेको छैन । तर, प्रहरीले शुक्रबार त्रिशूलीमा बेपत्ता भएका बसका यात्रु भएको अनुमान गरेको छ । यसअघि चितवनको गोलाघाटको नारायणी नदीमा भेटिएको शव भारत बिहारका ऋषिपल साह भएको पुष्टि भएको थियो ।

उनी त्रिशूलीमा बेपत्ता भएको काठमाडौंबाट रौतहट जाँदै गरेको बागमती प्रदेश ३००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु रहेको प्रहरीले जनाएको छ । यता त्रिशूलीमा नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोलीले बस र यात्रुको खोजी कार्य जारी राखेको छ । तर, बस हालसम्म भेटिएको छैन ।