Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

त्रिशूलीमा खसेको बससँगै रौतहटका दुई परिवारका आठ जना बेपत्ता

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार राति खसेको पहिरोले सोहोरेर त्रिशूलीमा खसाएको बसँसगै रौतहटका एकै परिवारका चार जना बेपत्ता भएका छन् ।  दुर्घटनामा रौतहट बौधिमाई नगरपालिका–३ मटिअर्वाका एकै परिवारका चार जना बेपत्ता भएका हुन् । 

सिमलतालमा लेदोसहितको पहिरोमा परी गणपति डिलक्स त्रिशुलीमा बेपत्ता भएपछि बौधीमाई नगरपालिका–३ मटिअर्वा गाउँ र गरुडा नगरपालिका–९ को सिसवा टोल शोकमा परेको छ ।  
मटिअर्वा गाउँका परशुराम साह बनियाका छोरा कृष्णनन्दन साह बनिया नेपाली सेनामा भर्ना भएका थिए ।

छोरा पासआउट भएको बेला खुशीयाली साटासाट गर्न परिवारका सदस्यहरू काठमाडौँ आएका थिए । ५८ वर्षीय परशुराम साह बनिया, उनकी ५५ वर्षीया श्रीमती मिना देवी साह, २५ वर्षीय माइलो छोरा सरोज साह बनिया, भारत विहार पूर्वी चम्पारण जिल्ला घर भएका ज्वाइँ २८ वर्षीय नरेश  र २४ वर्षीय छोरी रिंकु असार २५ गते मङ्गलवार गणपति डिलक्सबाट काठमाडौं गएका थिए ।

छोरा कृष्णनन्दन पासआउट भई खुशीयाली साटासाट गरेर पुनः गणपति डिलक्सबाट घर फर्किरहेको अवस्थामा बिहीबार बिहान ३ः३० बजेको समयमा चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसहितको पहिरोले बस बगाएको हो । परशुरामको माइलो छोरा सरोजले झ्यालबाट हामफालेर ज्यान जोगाए । तर परिवारका अन्य सदस्यको अवस्था अज्ञात छ ।

परशुरामले जेठा छोरा सुकनकुमारसँग राति १२ बजे अन्तिम पटक फोनमा कुरा गरेका थिए । ‘बुवाले भोली विहानै घर आइपुग्छु भनेका थिए तर बिहानै ओच्छ्यानमै गणपति डिलक्स त्रिशुलीमा खसेर बेपत्ता भएको खबर आयो । कल्पना समेत गर्न सकेका छैनौं,  सुकनकुमारले सुनाए । 

परशुरामसहित परिवारका चार सदस्य बेपत्ता भएका छन् । उनीहरु बेपत्ता भएपछि परशुरामको घर आफन्तहरूको जम्मा भएका छन् । यस्तै गरुडा नगरपालिका–९ सिसवा टोलकी ५० वर्षीय जुगेश्वर राय यादवले गाडीबाट हामफालेर ज्यान जोगाए । तर उनीसँगै सवार परिवार चार सदस्य बेपत्ता छन् ।

उनको ७ वर्षीय छोरा अशोक यादव, २७ वर्षीया छोरी अमृता यादव, अढाई वर्षको नाति शिवशङ्कर यादव र डेढ वर्षको नातिनीको अवस्था अज्ञात छ । उनी ७ वर्षीय अशोकको पेटमा रहेको घाउको उपचार गराउन र छोरीको ढाडमा रहेको समस्यालाई परीक्षण गराउन असार २० गते काठमाडौँ गएका थिए ।

रौतहट र वीरगञ्जका विभिन्न अस्पतालमा उपचार गराएर काठमाडौँ गएका उनीहरू गणपति डिलक्समा चढी रौतहट तर्फ आउने क्रममा दुखद दुर्घटनामा परेर बेपत्ता भए । उनको गाउँ सिसवा पुग्दा श्रीमती उमादेवी यादव अचेत अवस्थामा छिन् भने १८ वर्षीय जेठा छोरा सन्तोष यादव पीडामा छन् ।