Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

तीन जनाभन्दा चौंथो व्यक्ति प्रधानमन्त्री हुन खोजे भस्म हुन्छः सांसद अमरेश सिंह

‘कांग्रेस–एमालेबीचको सहमति टिक्दैन’

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले तीन नेताभन्दा बाहिर कोही प्रधानमन्त्री बन्न खोजे उ भस्म हुने टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको विश्वासको माग माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिन संसद्को रोष्ट्रममा उभिएका डा. सिंहले जहाँ जहाँ सम्झौता भए पनि प्रधानमन्त्री हुने तीन नेता मात्र भएको बताए ।

‘जहाँ जहाँ जस्तोसुकै सम्झौता गर्नुस् प्रधानमन्त्री हुने तीनजनामध्ये हो, चौथो व्यक्ति प्रधानमन्त्री हुन खोज्यो भने उ भस्म हुन्छ’, डा.सिंहले भने, ‘यो देश बिग्रिएको जिम्मा उहाँहरूले लिनु पर्दैन । हामी त यो रोष्ट्रममा उभिएर कहिले काहिँ बोल्न पाएका छौँ । यो देश बिग्रेको जिम्मा हामीले लिने ?’

सांसद डा.अमरेशकुमार सिंहले कांग्रेस–एमालेबीचको सहमति लागू नहुने दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले अहिलेसम्म दलहरूबीच भएको सहमति कार्यान्वयन नभएको उदाहरण दिँदै यो सहमति पनि कार्यान्वयन नहुने दाबी गरेका हुन् ।

सांसद सिंहले अहिले देश तीन प्रमुख नेताले चलाइरहेको दाबी गर्दै अहिलेसम्मको देशको हालतका लागि उनीहरूले जिम्मेवारी पनि नलिएको बताए । सांसद सिंहले कुनै पनि दलमा लोकतन्त्र नभएको दाबी गर्दै उनले प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको विषयको खोजी गर्नुपर्ने बताए । सांसद सिंहले प्रधानमन्त्रीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।