Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

‘रेड एडभाइजरी’ जारी जिल्ला र क्षेत्रमा रात्रिकालीन सवारी चलाउन रोक

मनसुनका कारण उच्च जोखिमका सूचना जारी भएका सडक खण्डमा रात्रिकालीन सवारी चलाउन रोक लगाइने भएको छ । 

आज शुक्रबार गृह मन्त्रालयमा गृहसचिवको नेतृत्वमा बसेको सुरक्षा निकायका साथै सरोकारवाला निकायसँगको छलफलले जल तथा मौसम पूर्वानुमान महाशाखाले रेड एडभाइजरी जारी गरेका जिल्ला र क्षेत्रमा रात्रिकालीन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो । त्यस्तो व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा जानकारी गराए ।

उनले टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गर्दै टिकट काटे वा नकाटेको अनुगमन गर्न ट्राफिक प्रहरीलाई सक्रिय गर्ने निर्णय भएको बताए।  सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको लामिछानेले बताए । 

ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटक–पटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय पनि भएको उनले बताए । उनले चितवनमा पहिरोमा परेको बसेको खोजी कार्य तीव्रताका साथ अघि बढाइएको जानकारी दिए । बाढी र पहिरोका कारण ३८ जिल्ला प्रभावित भएको उनले बताएका छन् ।


बेपत्ता दुई बसको खोजीमा ५०० सुरक्षाकर्मी परिचालन गरेका छौंः गृहमन्त्री लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ–मुग्लिन सडकमा पहिरोमा परि त्रिशुली नदीमा बेपत्ता भएका दुई यात्रु बस खोज्न पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएका छन् ।

गृहमन्त्री लामिछानेले बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा रेड अलर्ट जारी गरि ति स्थानहरुमा रात्री बस संचालन नगर्न यातायात व्यवस्था बिभागलाई निर्देशन दिएको जानकारी दिएका हुन् । लामिछानेले दुई यात्रु बस पहिरोले बगाएको प्रति दुःख व्यक्त गर्दै सो सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीहरु परिचालन गरिएको बताए । उनले संसदमा पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु भएको जानकारी दिए । लामिछानेले विपदबाट राहत र उद्धारको काम सरकारले तीब्ररुपमा गरिरहेको संसदमा जानकारी गराएका छन् ।