Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चुम्बक प्रयोग गर्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका दुई बस

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बसको खोजीका लागि चुम्बक प्रयोग गरिएको छ । तर दुबै बस फेला पर्न सकेका छैनन् । पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था नभएकाले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी हुक लगाएर पनि खोजी भइरहेको छ । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीले जानकारी पाएलगत्तै बस खोजिरहेको छ । खोजीका दागि दुई सय सु्रक्षाकर्मी परिचालन गरिएको छ । त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसकेको छ ।

450438508_7907419589281253_4964099398583294485_n.jpg

त्योभन्दा तल ठूलो भूमरी रहेकाले खोजीमा थप समस्या देखिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका एसएसपी माधव पौडेलले आफ्नो कमान्डमा ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको र अहिलेसम्म कोही पनि फेला पार्न नसकिएको बताए । उनले बस र यात्रुहरुलाई बगाएको आशंकामा देवघाटमा समेत टोली परिचालन गरेर खोजी गरिएको बताए ।

उनले सशस्त्र प्रहरीका ३ वटा बोट र नेपाली सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको पनि बताए । उनले बस नदी किनारमा पहिरोमा पुरिएको हुनसक्ने पनि आशंका गरिएको बताए । उनले अहिले नै पहिरो पन्छाएर खोज्न सक्ने अवस्था नरहेको पनि बताए सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए ।