Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नविल बैंकले ल्यायो ‘द नविल ढुक्क घर कर्जा’ योजना, कुन अवधिको कर्जाको ब्याजदर कति?

नविल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार ४१ औँ वर्ष प्रवेशको अवसरमा काठमाडौंमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममार्फत यस्तो योजना ल्याएको हो ।

बैंकले यस योजना सात वर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्ष अवधिको कर्जाको ९.४ प्रतिशत निर्धारण गरेको छ । योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ । बैंकले नयाँ खाता खोल्दा विभिन्न सुविधाको अफर समेत ल्याएको छ ।

जुलाई १२ देखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटिएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एन बैंक तथा एनबैंक एपको शुल्क ५० प्रतिशत छुट दिने भएको छ । साना तथा मझौला उद्यममा एक करोड रुपैयाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा दिने र कृषि तथा उत्पादनमुलक उद्योगमा पाँच करोड रुपैयाँसम्मको कर्जा आधारमा दरमा १.५ प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ ।

कार्यक्रम बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मनोज ज्ञवालीले विगतमा काठमाडौं केन्द्रित बैंककका रुपमा चिनिएको बैंक अहिले देशभर फैलिएको बताए । उनले ४० वर्षमा नविल बैंक डिजिटल रुपमा समेत सबै नेपालीको बैक बन्न सफल भएको बताए ।

उनले बैंकहरुले अब नाफा कमाउने र ब्यालेन्स सिट वृद्धि मात्रै नभइ दिगो विकासका लागि काम गर्न आवश्यक भएको बताए । उनले बैंकहरु जिम्मेवारी भएर राष्ट्रियताको लागि काम गर्न जरुरी भएको बताए । ज्ञवालीले आगामी दिनमा नविल बैंकले सस्तो, सुलभ र सहज सेवा ग्राहकलाई दिने गरी सेवा दिने बताए ।

नविल बैंकले स्थापनादेखि आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले डिजिटल बैंकिङ सेवालाई विशेष प्राथमिकता दिएर सेवा सञ्चालन गरिरहेको छ । बैंकले सन् १९८४ मा नेपाल अरब बैंकका नाममा स्थापना भएको नविल बैंकले बैंकिङ क्षेत्रमा पृथक पहिचान बनाएको छ ।