Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मन भएनः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामान्य प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रुचि नभएको बताएका छन् । प्रचण्डले आज विश्वासको मत दिने क्रममा सो विषय उठाउँदै प्राविधिक समस्या नभएको भए केही दिन अघि नै मत लिने तयारी रहेको पनि बताए ।

‘प्राविधिक समस्या नभएको भए एमालेले समर्थन फिर्ता लिएको भोलि पल्टै विश्वासको मत लिन्थे, तर समयले आज ल्याइ पुर्यायो, मैले विश्वासको मत लिन्छु भनेपछि केही साथी डराए,’ उनले भने । आफ्नो राजीनामा मागको लागि धेरै दबाब पनि दिएको उनको आरोप छ ।

सोही क्रममा प्रचण्डले संविधान निर्माणमा नेकपा माओवादीको सबभन्दा ठूलो लगानी रहेको बताउँदै संविधानलाई कमजोर बनाउनतर्फ माओवादी नलाग्ने पनि बताए। ‘देश बाढी पहिरोको चपेटा परी सरकार राहत र उद्धारमा लागि रहेको बेलामा साथीहरूले कहिले कर्मचारी तन्त्रलाई धम्क्याएर, फकाएर प्रभावित बनाएर सरकारलाई कमजोर बनाउने मात्र कोसिस गर्नुभयो,’ उनले भने । विश्वासको मत पाए पनि नपाए पनि आफू कुनै चिन्तित नरहेको रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।