प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो र दोस्रो ठूला दल मिल्दा जहिले पनि लोकतन्त्र कमजोर बनेको र अधिनायकवादलाई प्रश्रय दिएको बताएका छन् । कांग्रेस–एमाले मिल्दा आफूलाई प्रतिगमन र निरंकुशताको चिन्ता रहेको पनि उनले बताएका छन् ।
आज शुक्रबार संसदमा विश्वासको मत लिनेक्रममा उनले भने, नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ?’ उनले भने, ‘यहाँ त कांग्रेस र एमाले मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न, रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ ।’
उनले भने, ‘तपाईंहरुको यात्रा प्रतिगमनतिर हो भन्ने तपाईंहरुको सहमतिको तरिका, सहमति गरेका ठाउँहरु, सहमतिको तयारी कसका घरमा गर्नुभयो? हस्ताक्षर कसका घरमा गर्नुभयो? त्यो समय कुन रोज्नुभयो भन्ने आम जनताले नजिकबाट हेरिरहेका छन् । त्यसको हिसाब राखिरहेका छन् ।’ आफूले सबै भन्ने हो भने लाजमर्दो अवस्था आउने उनले बताए ।