Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

विप्लव समूहले यात्रुवाहक बस बगाएको घटनास्थलमा उद्धारमा कार्यकर्ता खटाउने

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सीले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराले दुईवटा बस बगाएको घटनाले पार्टीलाई स्तब्ध पारेको बताएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै विप्लवले दुईवटा यात्रुबाहक यातायातलाई पहिरोले बगाउँदा पाँच दर्जन भन्दा धेरै नागरिक बेपत्ता भएको खबरले पार्टी स्तब्ध भएको बताएका हुन् ।

विप्लवले विज्ञप्तिमार्फत प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । ‘केही दिनदेखि परेको अविरल वर्षाको कारण बाढी, पहिरो, डुबान र कटानले देशब्यापी ठूलो धनजनको क्षति भएको छ,’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन तथा जिउधनको क्षति भएकाहरुको उचित क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउन सरकारसँग माग गर्दछ ।’

विप्लवले नेता कार्यकर्तालाई राहत तथा उद्धारमा जुट्न निर्देशनसमेत दिएका छन् । ‘पार्टीका सबै नेता–कार्यकर्तालाई राहत र उद्धारमा खट्न निर्देशन गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ,’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।