Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जलसतह उच्च भएकाले त्रिशूलीमा बेपत्ता दुई बस खोज्न समस्या, गोताखोरसहित दुई सय सुरक्षाकर्मी परिचालन

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी दुई सय जना परिचालन गरिएको छ । सशस्त्र प्रहरी गोताखोर, मोटरबोट, र्‍याफ्टबोटसहित परिचालन भएको छ ।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ५५ जना सवार रहेको बताइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ ।

आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा चालक र सहचालकसहित ३१ यात्रु र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए । काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए ।

दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए । सो बसका यात्रुहरुको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ । यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ । नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ ।

यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरुको नाम पनि उल्लेख छैन । यस्तै, काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।