Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चितवनमा पहिरोमा परेर दुई यात्रु बस त्रिशूलीमा खसे, ५० बढी बेपत्ता

एउटा बस काठमाडौंबाट गौरतर्फ जाँदै, अर्को बस वीरगञ्जबाट काठमाडौँ आउँदै थियो

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।


प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’ उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए ।