राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ । बिहीबार सिंहदरबारमा बसेको राप्रपा संसदीय दलको बैठक ले सो निर्णय गरेको हो । बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको राप्रपा संसदीय दलका प्रवक्ता ज्ञानबहादुर शाहीले जानकारी दिए ।
‘मुलुकलाई अराजकतामा लाने र युवालाई विदेश जान बाध्य बनाउने प्रधानमन्त्रीलाई हामी भोलि विश्वासको मत दिँदैनौं,’ बैठकपछि शाहीले भने, ‘पृष्ठभूमिका कुनै पनि काम र हिसाबले प्रधानमन्त्री विश्वासको मतको लायक हुनु हुन्न भन्ने हाम्रो ठहर हो ।’ राप्रपाले आफूहरूलाई सरकारमा सहभागी हुन आह्वान भए पनि तत्काल निर्णय नगर्ने बताएको छ । बैठकपछि शाहीले संविधान संशोधनका इस्युलाई हेरेर धारणा बनाउने पनि बताए ।
‘सरकारमा सहभागी हुने विषयमा हामीलाई आह्वान भएको छ । तर हामीले अहिले कुनै निर्णय गरेका छैनौं,’ शाहीले भने, ‘हाम्रो मुख्य चासो संविधान शंसोधनका मुद्दासँग छ । जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेश खारेजी र अन्य के के विषयवस्तु आउँछन् । संविधान शंसोधनको लागि आयोग बन्ने विषय कसरी आउँछ । त्यसपछि हामी एउटा टुंगोमा पुग्छौं ।’
अहिले नै नयाँ बन्ने सरकारलाई समर्थन दिने वा नदिने पनि निर्णय नभएको उनले बताए । ‘नयाँ बन्ने सरकारलाई समर्थन दिने वा नदिने निर्णय गरेका छैनौं । उहाँहरूको प्रस्तुतिलाई हेरेर एउटा टुंगोमा पुग्छौं,’ उनले भने । राजनीतिक आस्थालाई छोडेर सत्तामा टाँसिने प्रवृत्ति राप्रपाले नदेखाउने शाहीले बताए । प्रधानमन्त्री प्रचण्डले शुक्रबार पाँचौ पटक विश्वासको मत लिँदैछन् । नेकपा एमाले, जसपा, नागरिक उन्मुक्तिलगायत पार्टी सरकारबाट बाहिरिएसँगै दाहालले विश्वासको मत लिन लागेका हुन् ।