नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री नबन्ने प्रष्ट पारेका छन् । आज बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफू पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन् ।
उनले पार्टी सभापतिलाई आफू सरकारमा नजानेबारे जानकारी गराएको बताएका छन् । उनले भने, ‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्ने पनि, हाम्रो शेखर कोइरालाले अघि भन्नु भए जस्तो कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दैगर्दा सरकारले शक्तिको दुरुपयोग गर्लान् कि भनेर सचेत गराउनु पर्ने काम प्रतिपक्षले मात्रै होइन, सत्ता पक्षले पनि गराउनु पर्छ । त्यसैले सत्ता पक्षको सांसदहरुको बेन्चको पहिलो हरफमा बस्छु म । त्यो पहिलो रोबाट सरकारलाई आवश्यक कुराको समर्थन गर्ने, परेको बेला सरकारलाई प्रश्न पनि गर्ने, जवाफदेही बनाउने । मेरो भूमिका सांसदको रुपमा रहन्छ ।’
उनले संबिधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै सबै दलको सहमतिमा मात्र सम्बोधन संशोधन गर्न सकिने बताएका छन् । कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले आजै आफू सरकारमा नजाने बताएका थिए । उनले दुई ठूला दल सरकार सञ्चालनमा रहेका बेला प्रतिपक्षी दलको स्वर मधुरो हुने बताउँदै आवश्यकताका आधारमा सरकारको खबरदारी गर्दै पार्टीकै काममा लाग्ने बताएका थिए ।