Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पत्रकार धमलालाई मेयर हर्क साम्पाङले दुर्व्यवहार गरेको भन्दै महासङ्घले जनायो आपत्ति

नेपाल पत्रकार महासङ्घले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले सञ्चारकर्मी संजिता धमलालाई कार्यालयमा बोलाएर अपमान र दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै पूर्वेली न्युज डटकममा कार्यरत सञ्चारकर्मी धमलालाई धरान उप–महानगरपालिकाका प्रमुख राईले आफ्नै कार्यकक्षमा बोलाएर अपमानित ढङ्गबाट दुर्व्यवहार गर्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको जनाएका छन् । 

गत असार २१ गते शुक्रबार आफ्नै कार्यकक्षमा बोलाएर नगर प्रमुख राईले सार्वजनिक सुनवाइ कार्यक्रममा आफू अनुकूल प्रश्न नसोधेको तथा प्रश्न सोधेकै आधारमा सञ्चारकर्मी धमलालाई अपमानित ढङ्गले आफ्नो कार्यकक्षबाट बाहिर निकाल्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर लछारपछार गर्दै पक्राउ गराएका थिए ।

विज्ञप्तिमा भनिएको छ– ‘नगर प्रमुख राईकै निर्देशनमा नगर प्रहरी र नेपाल प्रहरीले सत्य तथ्य नबुझी सञ्चारकर्मी धमलामाथि हमला गर्दा धमलाको चस्मा फुट्नुका साथै शरीरका विभिन्न भागमा चोटपटक समेत लागेको छ । सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्ति र प्रहरीबाट सञ्चारकर्मीलाई गरिएको यो हर्कत अत्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । प्रेस विरोधी यस्ता हर्कतले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासङ्घको ठहर छ ।’

.घटनाको सत्य तथ्य छानिबन गरी प्रेस विरोधी कार्यमा संलग्न जो कोही भए पनि कानुन बमोजिम कारबाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन महासङ्घले सम्बन्धित निकायसँग माग गरेको छ ।

patrakar_ZWeXPA8K5C.jpg