Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

शिक्षामन्त्री श्रेष्ठको स्पष्टीकरणः मैले पोल्याण्डको नागरिकता लिएको छैन

शिक्षामन्त्री सुमना श्रेष्ठले आफू नेपाली नागरिक नै रहेको स्पष्ट पारेकी छन् । मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको विषयमा पत्र पठाएको जानकारी दिँदै आफूले कुनै देशको पीआर वा नागरिकता नलिएको बताएकी हुन् । मन्त्रीश्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको स्पष्टीकरण दिएकी छन् ।

युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र काटेको थियो । त्यसबारे स्पष्टीकरण दिँदै सामाजिक सञ्जालमा भिडियो राखेकी उनले नेपालबाहेक कुनै पनि देशको नागरिकता वा पासपोर्ट नलिएको बताइन् । आफ्नो श्रीमान पोल्याण्डको नागरिक भएको, तर आफूले त्यहाँको पनि नागरिकता नलिएको उनले बताइन् । मन्त्री श्रेष्ठले भनेकी छन्, त्यसको प्रक्रिया समेत थाहा थिएन ।’

सतर्कता केन्द्रको पत्रपछि आफूले प्रक्रिया बुझ्दा स्थायी आवास अनुमति दिनुपर्ने र केही वर्ष बसेपछि मात्र नागरिकताका लागि आवदेन दिन पाउने व्यवस्था रहेको थाहा पाएको भन्दै उनले भनेकी छन्, ‘म शिक्षामन्त्री भएको करिव १२० दिन भयो । त्यो भन्दा पनि कम समय पोल्याण्ड बसेको छु ।’ आरोप आफैमा अस्पष्ट रहेको बताउँदै कुन देशको पीआर वा नागरिकता भनेर पनि नखुलाइएको र आरोप पूर्णतः निराधार रहेको स्पष्ट पारेकी हुन् । उनले आफूले छानबिनमा पूरा सहयोग गर्ने पनि बताएकी छन् । उनले आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्न आग्रह गरेकी छन् ।