Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बिन्दवासिनी सहकारीको सात करोड हिनामिना प्रकरणमा थप दुई जना पक्राउ

पोखराको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरी फरार भएको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–१७ बिरौटाका ४६ वर्षीय किरण कपाली र पूर्व लेखा समिति संयोजक ४५ वर्षीय बुद्धिसागर ढकाल छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ । सहकारीको रकम अपचलन सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झण्डै सात करोड हिनामिना देखिएको छ ।

सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल पुर्पक्षका लागि जेलमा छन् । अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदीले मिलेर कार्यसमितिका अरूको कीर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।