प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानअनुसार विश्वासको मत लिनका लागि व्यवस्था गरिएको ३० दिनकै समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिए पनि आपत्ति नभएको बताएका छन् । तर, सरकारमा बसेसम्म सदनप्रति जिम्मेवार हुनुपर्ने बताए ।
प्रतिनिधिसभाको आज मंगलबारको बैठकमा प्रमुख सचेतक लेखकले सरकारले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपबाट कति जनधनको क्षति भएको हो भन्ने कुराको यकिन जानकारीका साथै उद्धार र राहतमा के काम भइरहेको छ भन्ने कुराको जानकारी गराउनु पर्ने माग गरे ।
कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेको एमालेले भने प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने माग उठाउँदै आएको छ । ‘सरकार विश्वासको मत लिने तयारी गरिराख्या छ । संविधानअनुसार सरकारले पाउनु पर्ने समय पाउनु पर्छ भन्ने कुरा उठ्या छ, त्यसमा केही द्वविधा छैन । सरकारले पूरै ३० दिन लेओस् । हिजो २८ गते त थोरै मात्र हुन्छ २१ दिन थप्न सकिन्छ पनि भन्नुभयो, त्यो पनि थप्दा हुन्छ । आपत्ति छैन,’ लेखकले भने, ‘सरकार हुँदासम्म त सदनप्रति उत्तरदायी भइदिनु पर्यो । भनिदिनु पर्यो कति मानिसहरूको मृत्यु भएको हो? कति घाइते भएका छन्? कतिको उपचार भइरहेको छ?’
सरकारले अहिले अविरल वर्षका कारणले बाढी, पहिरो, डुबानले ल्याएको समस्याका बारेमा सदनमा जानकारी गराउनुपर्ने लेखको भनाइ थियो । मुलुकमा प्राकृतिक प्रकोपको कारणले भएका क्षतिको जानकारी पत्रपत्रिकामा प्रकाशित तथ्यांक पढेर जानकारी पाउनुपर्ने बाध्यता रहेको लेखकको भनाइ थियो । सरकारको जिम्मेवारीमा रहेसम्म जनता र संसद्प्रति जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।