Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

पहिरोको जोखिम भएपछि च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो

वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडकमा लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब एक सय ५० मिटर सडक अवरुद्ध भएको हो । गए राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् । साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले आज बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउन थालिने छ ।

पहिरोको जोखिम भएपछि च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो
भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले सो स्थानलाई बस्न जोखिम बनाएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा सो गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो ।

कार्यालयका प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले भेरी–१ च्याउपानीका पहिराको उच्च जोखिममा रहेका ११ घर परिवारलाई अन्यत्र सारिएको जानकारी दिए । तीमध्ये छ परिवारलाई भेरी–१ मेदेगाउँको खुला चौर र अन्यलाई आफन्तकहाँ तत्कालका लागि बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष दीपक रानाले बताए । त्यस्तै चार दिनदेखि अवरुद्ध भएको लुम्बिनी– रारा राजमार्गअन्तरर्गत जाजरकोटकोटको भेरी–२ का विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । उक्त सडक खुलाउन पहल नभएको स्थानीयवासी पुष्प ओलीले बताए ।