Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

जसपाका मन्त्रीको राजीनामा चार दिनपछि स्वीकृत, प्रधानमन्त्रीको काँधमा १० मन्त्रालय

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीले दिएको राजीनामा चार दिनपछि स्वीकृत गरेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जसपाका तीन मन्त्रीले असार २१ गते साँझ राजीनामा बुझाएका थिए ।

उनीहरुको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले समहाल्नेगरी तोकेका छन् । जसपाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए ।

अशोक राई नेतृत्वको जसपाले कांग्रेस एमालेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिसकेको छ । यसअघि एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन् । अब प्रचण्ड सरकारमा माओवादी, रास्वपा र नेकपा एसका मन्त्री मात्र छन् ।