Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता

कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो।

राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। यसैगरी बेल्डाँडी गाउँपालिका-३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन्। प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ।

एक हजार सात सय घर डुबान

दुई दिनदेखिको वर्षाका कारण कञ्चनपुरमा हालसम्म एक हजार सात सय ५० घर डुबानमा परेका छन्। आइतबार रातिदेखि भीमदत्त, वेदकोट, दोधारा चाँदनी र पुर्नवास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आइतबार राति बाढीमा फसेका ३९ जनाको उद्धार गरेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए। जिल्लाभर डुबानमा परेकाको उद्धारका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ। “हालसम्म एक हजार सात सय ३८ जनालाई सुरक्षित स्थानमा लगिएको छ”, उनले भने।

कञ्चनपुरका नौवटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन्। भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुर्नबास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन्।

त्यसैगरी आइतबार मध्यरातमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत भाँसी-दैजी खण्डको सुडा चोकमा बाढीले कल्भर्ट भत्काउँदा यातायात सेवा प्रभावित भएको छ। यहाँ अहिले वैकल्पिक सडक प्रयोग गरेर सवारीसाधन सञ्चालन भइरहेका छन्।

दोधारा-चाँदनी नगरपालिका-१० कुतियाकवरलगायत क्षेत्रमा महाकाली र जोडबुढा नदीको बाढी बस्तीमा पसेको छ। बाढी पीडित वडा कार्यालय, विद्यालय र आफन्तकहाँ आश्रय लिइरहेको प्रहरीले जनाएको छ।

आइतबार राति महाकालीमा पानीको सतह चार लाख क्युसेक नाघेको थियो। पानीको सतह अहिले घटेर दुई लाख ८८ हजार क्युसेक पुगेको छ। महाकालीमा पानीको सतह बढेपछि तीन दिनदेखि बनबासास्थित शारदा ब्यारेजका नेपालतर्फका २४ वटै ढोका खोलिएका छन्।

महाकालीमा २०७८ कात्तिकमा सबैभन्दा बढी पाँच लाख ४७ हजार क्युसेक पानी मापन गरिएको थियो। यहाँ तीन दिनदेखि पुलमा सवारीसाधन चलाउन रोक लगाइएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए।