Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

बच्चालाई आमाबुवाको भन्दापनि बच्चाकैं रुचीको बिषय पढ्न प्रेरित गर्नुपर्छ - केशब धामी (भिडियो)

ललितपुरस्थित ग्वार्कोमा रहेको ललितपुर निस्ट् कलेजका प्रधानाध्यापक केशब धामीले निस्ट् क्याम्पस सबै विद्यार्थी तथा अभिभावकको रोजाई बनेको बताएका छन। सन् १९९४ मा स्थापना भएको उक्त क्याम्पसमा विज्ञान, व्यवस्थापन, र कक्षा ११,१२ का विद्यार्थीहरूलाई कानुन विषयमा समेत पठनपाठन गराइने गरिएको छ। उच्च शिक्षालाई लक्षित गरेर निस्ट् कलेजले हाल बीसीए, बीएस्सी, बीबीएस, एमबीएस लगायत कक्षाहरू सञ्चालन गरिरहेको उनले बताए।

आर्थिक स्थिती कमजोर भएका विद्यार्थीहरूलाई लक्षित गरी कलेज सञ्चालन गरिएको बताउँदै उनले भने 'पैसा कै अभावमा कुनै पनि विद्यार्थी अध्ययनबाट वञ्चित नहुन भन्ने उद्येश्यले यो कलेज शुरु गरिएको हो । अध्ययनमा अब्बल भएका विद्यार्थीहरूलाई ११,१२ कक्षा अध्ययन गर्नका लागि ३ किसिमको छात्रवृत्ति दिने व्यवस्था गरेका छौं।' क्याम्पस सञ्चालन भएको तीन दशकको अवधीमा डाक्टर, वैज्ञानिक, इन्जिनियर, एग्रिकल्चरिस्ट् तथा वकिलजस्ता जनशक्तिहरू निस्ट् कलेजले उत्पादन गरिसकेको र गरिरहेको छ।

शिक्षामा स्तरियताको प्रसङ्गमा कुरा गर्ने क्रममा धामीले शिक्षाको नीतिलाई सरकारले केही परिमार्जित गर्नुपर्नेमा जोड दिए। शिक्षा नीतिलाई परिमार्जित गरि व्यवहारिक र आधुनिक शिक्षा उपलब्ध गराउन सके विद्यार्थीहरूको परिक्षा र नतिजा उचित समयमा गर्न सकेमा ११, १२ अध्ययन गरेर उच्च शिक्षाको अध्ययनकालागि विदेश जाने धेरै विद्यार्थीहरूलाई स्वदेशमैं रोक्न सकिने धामीको बुझाई छ। १२ कक्षा अध्ययन गरेका विद्यार्थीहरू विदेश पलायन हुने कारणले गर्दा नेपालका क्याम्पसहरूलाई उच्च शिक्षाकालागि विद्यार्थीहरू पाउन गाह्रो भएको धामीले बताए। विदेशी कोर्स ए लेबल ओ लेबलका कलेजमा एसइई परीक्षा लगत्तै भर्ना गर्न दिने र पढाई हुने तर अन्य नेपालका कलेजहरूले तयारी कक्षासमेत गर्न नपाउने सरकारको नियमले आफूहरु अझ समस्यामा परेको उनले बताए। 

आफ्ना बच्चाहरूलाई अध्ययन गर्न रुची लागेको विषय परिवारले अध्ययन गर्न दिनुपर्ने धामीको सुझाव छ। छिमेकीको बच्चाले अध्ययन गरिरहेको विषय नै आफूले पनि अध्ययन गराउने भन्दापनि बच्चालाई लागेको रूचीको विषयलाई अध्ययन गर्न दिएमा उनीहरूले अझ राम्रो नितजा ल्याउन र भविष्यमा राम्रो गर्नसक्ने धामीको विश्वास छ। विद्यार्थीले बढी समय स्कुलमा बिताउने हुँदा उनीहरूको रूची र क्षमताबारे स्कुल/कलेजले पनि पहिचान गरेर सुझाव दिनुपर्ने धामी बताउँछन।

यिनै बिषयमा केन्द्रित रहेर ललितपुर निस्ट् कलेजका प्रधानाध्यापक केशब धामीसँग नेपाल रैबारका लागि जीवन बनियाले गरेको कुराकानी भिडियोमा हेर्नुहोस् -