Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

उद्धार र राहतमा जुट्न प्रधानमन्त्री प्रचण्डको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख प्रकट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गरेका छन् । उनले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको जानकारी दिएका छन् ।

उनले सरकारको प्रयासमा हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल,नागरिक समाज र सामाजिक संस्थाहरूसँग हार्दिक अपील गरेका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु ।’

उनले भने, ‘प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशित गर्दछु । यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको छ । यस सन्दर्भमा सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु । सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग हार्दिक अपील गर्दछु ।’