राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन्।
मंगलवार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। गृहमन्त्री लामिछानेले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको बताए। उनले भ्रष्टाचारका फाइल खोले पनि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाए।
लामिछानेले भने, ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ, जुन ढंगले सरकार अघि बढेको छ। तपाईंहरू नै भन्नुहुन्थ्यो‚ फाइल खोल्नुपर्यो। फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो। एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो। संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त।’ उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता कसरी भयो भन्दै प्रश्न गरे।