नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको महाधिवेशन उद्घाटनसत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नआएकामा गुनासो गरेका छन् । नेपालले ओलीलाई फोन गर्दा पनि नआएको बताएका छन् ।
आइतबार काठमाडौँमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा बोल्दै अध्यक्ष नेपालले ओलीलाई १० पटक फोन गर्दा समेत फोन नउठाएको बताए । उनले भने, “नेकपा एमालेका साथीहरु कतै देखेको छैन । मैले निम्तो पठाएको हो । ओली जीलाई धेरै पटक फोन गरे । उहाँको सबै सहयोगीहरुलाई फोन गरे। तर कसैले उठाउनु भएन ।”
“एमाले किन आएन भन्ने जिज्ञासा होला, फोन गरेको छु, फोन लागेन । पीएलाई पटक–पटक फोन गरेको छु, मेसेज गरेको छु । पाएको सूचना आएको थियो,” उनले भने, “भर्खर तीन वर्ष भएर होला, आलो घाउ पचाउन गाह्रो भएको होला । आन्दोलनमा यस्तो भइरहन्छ ।” अध्यक्ष नेपालले कम्युनिस्ट पार्टी मिलाउन मूल नेतृत्वले पहल गर्नुपर्ने बताए । समाजवादी मोर्चालाई अघि बढाउन उनले प्रस्ताव पनि गरे ।
“फोन गरेको हो, तर एउटा घटक अझै हामीसँग काम गर्न तयार भएको छैन,” ओलीप्रति इंगित गर्दै उनले भने, “जोजो मिलेर भए पनि मोर्चा अघि बढाउनुपर्छ । पार्टी बलियो भएपछि भूमिका खेल्न सक्छ ।” उनले समाजवादलाई ‘फोकस’ गरेर आफूहरू अघि बढ्ने स्पष्ट पारे । एमालेमा विद्रोह नगरेको भए आफूहरूको अस्तित्व समाप्त भइसक्ने उनको भनाइ थियो । “विद्रोह नगरेको भए समाप्त हुने थियौँ । कि त राजनीतिबाट पलायन हुनुपर्थ्यो कि आत्मसमर्पण गरेर बस्नुपर्थ्यो,” उनले भने ।
उनले पार्टी विभाजनको कारणले गर्दा निम्तो अस्वीकार गरेको भन्दै भने, “भर्खर ३ वर्षको भाउ हो । निको भएको छैन होला । त्यसैले गर्दा ओली जी आउनुभएन । धेरै गुनासो छैन । यस्तो कुरा राजनीतिमा पचाउन सक्नुपर्छ ।” उनले कसैमाथि भेदभाव राख्नुपर्ने आवश्यक नरहेको भन्दै सबैलाई सद्भाव राख्ने बताए । राजनीतिको यात्रामा यस्तो घटनाहरु भइरहेने उनले बताए ।
महाधिवेशन उद्घाटनमा राप्रपाका नेता आउने आस भए पनि किन नआएको भन्ने बुझ्न नसकिएको उनले बताए ।