Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

हरेक उथलपुथलमा अरुलाई पछाडि दौडाउन सक्ने क्षमता हाम्रो पार्टीमा छः माधव नेपाल

‘एकीकृत समाजवादी अरु जस्तो साधारण पार्टी होइन’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनबाट नेतृत्व सहमतिमै चयन हुने विश्वास व्यक्त गरेका छन् । महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस अगाडि पार्टीका चार वटै दस्तावेज सहमतिमै पास भएको बताए ।

उनले अहिलेको विशिष्ट अवस्थामा नेताहरु हातेमालो गर्दै मिलेर अगाडि बढ्न कार्यकर्ताबाट स्वरहरु बढिरहेको बताए । नेपालले अरु पार्टी जस्तो सामान्य पार्टी एकीकृत समाजवादी नभएको दाबी गरे । ‘नेपाली समाजमा ठूला–ठूला उथलपुथल भइरहेका छन् । प्रत्येक उथलपुथलमा हामीले अग्रगामी भूमिका खेलेका छौं । हामी सहभागी मात्र होइन, अगुवाई पनि गरिरहेका छौं ।’ उनले भने, ‘अरु पार्टी जस्तो साधारण पार्टी एकीकृत समाजवादी होइन । त्यतिकै घटनाक्रममा सहभागी हुने पार्टी होइन ।’

घटनाक्रमलाई सूत्रीय हस्तक्षेप गर्ने र अरुलाई पछाडि दौडाउन सक्ने क्षमता पार्टीसँग रहेको उनको भनाई छ । नेपालले आफ्नो पार्टीले नेपालको राजनीतिमा निर्णायक भूमिका खेलेको जिकिर गरे । नेपालले सानो पार्टी हुँदा थोरै पद र ठूलो पार्टी हुँदा धेरै पद आवश्यकता परेको बताएका छन् । एकीकृत समाजवादीले १९९ बाट बढाएर २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन लागेको छ ।