Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नयाँ वाम विकल्प दिने गरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भूसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नयाँ वाम विकल्प दिने गरी पार्टीको नेतृत्व चयन हुने बताएका छन् । आज शनिबार काठमाडौंमा पत्रकार सम्मेलनमा भूसालले आफूहरूले समस्या समाधान गर्नुपर्ने कुराहरूलाई ध्यानमा राखेर कार्यक्रमहरू ल्याउने दावी गरे । समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने उनको तर्क छ ।

‘आगामी दिनमा हामीले समाधान गर्नुपर्ने सबै समस्यालाई समाधान गर्दै समाजवादी कार्यक्रमलाई बोक्ने, स्थापित गर्ने र मुलुकमा एउटा वाम विकल्प, जति सकिन्छ छिटो दिने हो,’ उनले भने । विगतमा असाधारण वाम विकल्प रहेको र अहिले भत्किएको भन्दै त्यसलाई समेत् जोड्ने गरी नेतृत्व चयन हुने भूसालको तर्क छ । महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले समाजवादी कार्यक्रमलाई बोक्ने शक्ति निर्माण गर्ने बताए ।

‘हिजो एउटा वाम विकल्प थियो, असाधारण वाम विकल्प थियो, त्यो भत्किएको थियो, भत्किएको छ, त्यसलाई समेत जोड्ने र इतिहासको त्यो दायित्वलाई पनि पूरा गर्न सक्ने गरी हाम्रो नेतृत्व एकताबद्ध भएर हाम्रो नेतृत्व चयन गर्नेछौँ,’ उनले भने । महासचिव भूसालले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौँसम्म कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने दाबी गरे ।