संसारमा मानव सृष्टिको सुरुवाती चरण देखि हेर्ने हो भने आपसी मतभेद, द्वन्द र समझदारीबाट समाज चलेको देखिन्छ। साझा भूगोल, थरि-थरिका मानिसहरुको बसोबास, मिश्रित विचारहरुको थलो समाज हो। समाज विकासको चरणमा जतिजति विकास हुँदै गए उतिउति नै मानिसको जीवनशैलीमा जटिलता थपिदै गएका छन्।
समाजशास्त्रीहरुका अनुसार समाज सहजताबाट जटिलतातिर उन्मुख हुने गर्दछ। यहि जटिलतालाई न्यून गर्ने र समाजलाई एउटा सन्तुलित प्रक्रियामा चलाउन भनेर राज्य र सरकारको अवधारणा अवलम्बन गरिएको देखिन्छ। व्यक्ति-व्यक्तिका असिमित आवश्यकता हुन्छन तर स्रोत र साधन सिमित हुन्छन र त्यसको समुचित प्रयोगले अधिकतम सन्तुष्टि प्राप्त गर्ने प्रयास गर्नुपर्ने मान्यता राखेको पाइन्छ। सरकार जनमुखी हुनुपर्दछ। भएको स्रोत र साधनबाट जनताले मागेका कुरा दिलाउनु राज्यको दायित्व हो। जब राज्यबाट अससमानता, विभेद हुन पुग्दछ तब त्यो विभेद, असमानताको विरुद्व बुलन्द आवाज लिएर समाजको प्रतिनिधित्व गर्दै युगको नेताको उदय हुन्छ।
विगतलाई अनुसरण गरेर, वर्तमानलाई बुझेर भविष्यलाई मध्यनजर गर्न सक्ने र त्यहि अनुरुप समाजलाई रुपान्तरण गर्न नेतृत्व गर्न सक्ने चिन्तनशील, सैद्धान्तिक, वैचारिक र कुशल सांगठनिक कर्ता नै समयले मागेको नेता हो।
नेपालको संविधान २०७२ भाग-२९ राजनीतिक दल सम्बन्धि व्यवस्थाको धारा २६९, २७०, २७१ र २७२ को अधिनमा रही त्यो व्यवस्थाबाट चुनिएर आएका प्रतिनिधिलाई नेताको रुप स्वीकारिएको छ। सिद्धान्त र विचारलाई जनस्थरसम्म पुर्याउने र त्यो समय सापेक्ष विचारलाई महाधिवेशन मार्फत मूर्त रुप दिदैँ कुशल नेतृत्व स्थापित हुने गर्दछ। यतिबेला नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशन (असार १६-२०) को चर्चा परिचर्चा विभिन्न बौद्विक जगतमा, सञ्चार माध्यम, सामाजिक सञ्जाल र चिया पसलमा व्यापक टिकाटिप्पणी, छलफल र विमर्श भएको देख्न सकिन्छ। कार्यकर्ता माझमा आ-आफ्नो क्षमता अनुरुप आफ्नो नेतृत्व कर्ताको खुलेर हुली पिटिरहेका छन। वास्तवमा त्यो पुस्ताको रगत/पसिनाको वलिदानको फल यहि होला कि आफ्नो विचार निर्धक्क राख्न सक्ने बहुदलीय लोकतान्त्रिक पद्वतिको बिकास ।
पृष्ठभूमि
वि.स. २००६ बैशाख १० गत्ते कलकत्ताको श्यामबजारमा कमरेड पुष्पलालको अगुवाइमा स्थापना भएको कम्युनिष्ट पार्टी नेपालमा ७ दशक पार गरिसेको छ। विभिन्न नामले टुटफुटको वावजुत कम्युनिष्ट आन्दोलन २०७४ सालसम्म आइपुग्दै गर्दा झण्दै दुई तिहाइको जनमत प्राप्त गर्दै अझै पनि विभिन्न नाममार्फत ६५% भन्दा माथि जनसमुदायको जनसमर्थन कम्युनिष्ट पार्टीतिरै रहेको आवधिक निर्वाचनको मत परिणामले पनि देखाउछ। यत्रो विशाल जनसमर्थन रहेको कम्युनिष्ट पार्टीहरु एक ढिक्क नहुनु र हुदाँ पनि त्यसलाई दीर्घकालीन थामिन नसक्नुमा गहन प्रश्न चिन्ह खडा भएको छ। यस्तै पृष्ठभूमिमा रहेर चरम व्यक्तिवाद, निरंकुश कार्यशैली पद्वति र नेपाली जनताको रगत र वलिदानबाट आर्जित संविधान व्यवस्थामाथि नै लात हान्ने र बल मिचाई प्रवृतिकोविरुद्वमा तत्कालिन नेकपा एमालेबाट बिद्रोह गर्दै २०७८ भाद्र ९ गते नेकपा (एकीकृत समाजवादी) गठन भएको हो ।
जुन बिद्रोहलाई अदालतले पुष्टि गर्यो र त्यसलाई निर्वाचनले पनि पुष्टि गरिसकेको अवस्था छ। राजनीतिक दल सम्बन्धि ऐन २०७३ को परिच्छेद-३ को दफा १५ को उपदफा ४ बमोजिम पार्टी गठन भएको २ वर्ष पनि नपुग्दै आवधिक निर्वाचनमा होमियौं र त्यसले एकखालको परिणाम त दिने नै भयो यसलाई सहर्श स्वीकार गर्दै पार्टी निर्माणमा निरन्तर क्रियाशील छौ। पार्टी गठन भएको ५ वर्षभित्र अधिवेशन गरिसक्नु पर्ने कानुनी नियम भएता पनि पार्टी निर्माणलाई नयाँ सिराबाट अघि सार्न हामी महाधिवेशन केन्द्रित हुँदैछौ। बिद्रोह पछीको पहिलो महाधिबेशन भएता पनि २००६ सालमै स्थापित कम्युनिष्ट पार्टीकै निरन्तरतालाई पछ्याउदै अहिलेको महाधिवेशनलाई १०औं राष्ट्रिय महाधिवेशन भनिरहेका छौ ।
नेपाली कम्युनिष्ट आन्दोलन र नेकपा (एकीकृत समाजवादी)
संसारभर कम्युनिष्ट आन्दोलन खस्किदैँ जाँदा नेपालमा भने जुर्मुराउदै झण्डै दुई तिहाईको नजिको पुगेको ७ दशक लामो कम्युनिष्ट आन्दोलनमा विभिन्न नामले कम्युनिष्ट पार्टीहरुको आरोह-अवरोह, टुटफुटको शृंखला अधिक देखिन्छ । यसो हुनुमा हामीले अंगिकार गरेको हुबहु सैदान्तिक विचार, सांगठनिक पद्वती नै प्रमुख कारण देखिन्छ। चाहे त्यो माओवादीले गरेको २०५२ को सशस्त्र युद्व होस् या अरु कम्युनिष्ट पार्टीले अवलम्बन गरेका सैदान्तिक/सांगठनिक प्रणाली मुलत हामीले हाम्रो माटो अनुरुपको समाज, विचार, सिद्वान्त पद्वतिको पार्टी विकास गर्न नसक्नुनै मूल जड हो। यो सम्पूर्ण नेपाली राजनीतिक दलहरुमा व्याप्त देखिछ।
पछिल्लो समय राजनीतिक दल र दलका नेताहरुको कार्यशैली प्रति कटाक्ष, वितृष्णाको प्रतिविम्ब स्वरूप केहि नयाँ अनुहारहरु राजनीतिक जगतमा चम्किरहेका छन। जसलाई लोकतन्त्रको सुन्दर फुलबारी भन्न सकिन्छ। यी तमाम समाजको यथार्थलाई मध्यनजर गर्दै आवधिक निर्वाचनबाट प्राप्त मतलाई अनुसरण गर्दै, युग सुहाउँदो माटो, हावापानी, समाज सुहाउँदो राजनीतिक दस्तावेज, नेपाली विशेषताको समाजवाद कार्यक्रम, आजको पार्टीबारे साङ्गठनिक प्रस्ताव र २० प्रतिशत ४० वर्ष मुनिको युवा सहभागिता सहित विधानको दस्तावेज मस्यौदा पार्टीको केन्द्रिय कमिटि हुदैँ २०८० माघ १४ गत्तेको प्रतिनिधि परिषदको बैठकले सर्वसहमतिमा पारित गरिएको छ । यो आफैमा गौरवपूर्ण र आजको नेपाली समाजलाई नेपाली माटो सुहाउँदो आर्थिक, राजनीतिक र सैद्वान्तिक विचारले मार्ग निर्देशन गर्न सक्ने विश्वास लिएको छ। यसलाई सहि ढङ्ग र कुशल नेतृत्व परिचालनको आवश्यकता भने पक्कै पर्नेछ।
महाधिवेशनको प्रमुख खेलाडीहरु
राजनीतिमा नयाँ परिवेश अनुसार सैद्वान्तिक विचार, कार्यशैली रणनीति अपनाउदै खेल मैदानमा उत्रिनु खेलको नियम हो। खेलाडीको विशेषता फरक-फरक हुन्छन। कुन खेलाडीले खेलको खेल प्रस्तुतिलाई बहुसंख्यकले मन पराउँछन । समर्थन गर्छन। त्यसमा त्यो खेलाडीको भविष्य निर्धारण हुने गर्दछ। राजनीतिक पार्टीको प्रमुख चाड र फाइनल खेल महाधिवेशन हो। जुन नेकपा (एकीकृत समाजवादी) को १० औं राष्ट्रिय महाधिबेशनमा ३ जना नेताहरुले प्रमुख दावी गरिरहेका छन् अध्यक्ष माधवकुमार नेपाल, समानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल। आन्तरिक पार्टी लोकतन्त्रमा आफ्नो दावी पेश गर्दै आफुलाई अब्बल प्रस्तुत गरिनु लोकतान्त्रिक प्रणालीको अत्यन्त सुनौलो पक्ष हो। तर वर्तमान समाजको परिवेश, राष्ट्रिय राजनीति, कुटनीतिक र अन्तराष्ट्रिय जगतमा आफुलाई अब्बल साबित गर्न सक्ने अदभुत क्षमता छ कि छैन यसलाई मध्यनजर गर्न जरुरी छ ।
वर्तमान नेपालीहरुको युवा वैदेशिक पलायन, बौद्विक पलायन, राजनीतिप्रतिको वितृष्णा र यो देशमा केही हुँदैन भने जबर्जस्त सृजना गरिएको भाष्यलाई छिचल्दै नयाँ आशाका किरण छर्ने , बाटो देखाउने अग्रणी पार्टीको रुपमा दर्ज गराउनुपर्ने चुनौती अब बन्ने नेतृत्वलाई छदैँछ। सबैका आ-आफ्नै विशेषता छन् । यसका वावजुत सरसर्ती पृष्ठभूमि हेर्दा वर्तमान परिवेश, राष्ट्रिय राजनीति, आन्तरीक पार्टी संरचना आंकलन गर्दा एक कार्यकालको लागि पार्टीमा माधवकुमार नेपालको नेतृत्व आवश्यक देखिन्छ । निरङ्कुश निर्दलीय पंचायती शासनको विरुद्वको आन्दोलन, शाह वंशीय राजतन्त्रविरुद्व देखि उही कम्युनिष्ट पार्टीको नामबाट सशस्त्र संघर्षबाट आएका तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रकियामा ल्याउन उल्लेखनीय भूमिका खेल्दै बहुदलीय राज्य संचालनको व्यवस्थामा कम्युनिष्ट पार्टीलाई रुपान्तरण गर्दै समाजवादको यात्रा तय गर्ने सक्ने क्षमता भएका एक कुशल नेता माधव कुमार नेपाल हुन्।
समानित नेता झलनाथ खनाल सक्रिय राजनीतिभन्दा कम्युनिष्ट आन्दोलनको विचार र दर्शनलाई प्रभावकारी पार्न दार्शनिक भूमिका प्रदान गर्न सके पार्टी र मुलुकको भलो हुने कुरा नकार्न सकिदैन। कम्तिमा एक कार्यकाल महासचिव घनश्याम भूसाल अध्यक्षको दौडमा माधव कुमार नेपाललाई सहयोग गर्न आवश्यक देखिन्छ। तथापी दावि पेश गर्नु उहाँको व्यक्तिगत अधिकार रहन्छ।
निष्कर्ष
वर्तमान दलाल नोकरशाही पुँजीवादलाई बहूदलीय प्रतिष्पर्धा मार्फत अन्त्य गर्दै राष्ट्रिय पुँजीको निर्माण र औधोगिक कृषि क्रान्ति, पर्यटन प्रवर्द्धन, साँस्कृतिक मुल्य मान्यतालाई जगेर्ना गर्दै अवसरमा समानता सहितको शान्ति सु-व्यवस्था, सुखी नेपाली र समृद्व नेपाल बनाउनको निम्ति मार्क्सवादी मार्गनिर्देशक सिद्वान्तमा नेपाली विशेषता सहितको समाजवाद नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्वबाट नेपाली समाजको अवस्था रुपान्तरण हुनेछ भन्ने आशा गर्न सकिन्छ।
(लेखक दिपेश सिंजाली मगर नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) का महासचिव हुन्।)