Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आफू कमजोर बनेको स्वीकार्दै जेलेन्स्कीले भने - रुससँगको युद्ध रोकिदिनुस्

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफ्नो देशले अब धेरै युद्ध नसहने भन्दै शान्ति शिखर सम्मेलन आयोजना गर्नुपर्ने बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले बेल्जियमको ब्रसेल्समा पत्रकारहरूसँग छोटो कुरा गर्दै विस्तृत कार्ययोजना बनाएर दोस्रो सम्मेलनमा जान ढिलाई गर्न नहुने बताएका हुन् ।

आफू कमजोर बनेको राष्ट्रपति जेलेन्स्कीले स्वीकारेका छन् । राष्ट्रपति जेलेन्स्कीले भने,’हामीसँग धेरै समय छैन । हामीसँग धेरै घाइते, मृतक सेना र नागरिक छन् । त्यसैले हामी यो युद्ध वर्षौंसम्म चलोस् भन्ने चाहँदैनौं । त्यसैले, हामीले अर्को शान्ति शिखर सम्मेलनको योजना तयार गर्नुपर्छ र यसलाई टेबुलमा राख्नुपर्छ ।’

राष्ट्रपति जेलेन्स्कीले नयाँ शिखर सम्मेलनले रुसले गरेको सबै आक्रमणलाई निरस्त पार्ने खालको योजना नयाँ शिखर सम्मेलनले पारित गर्नुपर्ने बताए। रुसको आक्रमणका कारणले निम्तिएका सबै संकटहरूसँग जुध्न सकिने गरी कार्ययोजना पास हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीको भनाई छ ।

पहिलो शिखर सम्मेलन स्विजरल्यान्डमा आयोजना गरिएको थियो, जसमा ९० भन्दा बढी देशहरू सहभागी थिए ।​ स्विट्जरल्यान्डले गत जुन १५ र १६ मा युक्रेनको विश्व शान्ति शिखर सम्मेलनको आयोजना गरेको थियो । जुन १६ मा भएको शान्ति सम्मेलनको अन्तिम संयुक्त विज्ञप्तिमा ७८ राज्य र चार संस्थाले हस्ताक्षर गरेका थिए । कार्यक्रमपछि थप नौ वटा राज्यले उक्त दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

युक्रेनले यही वर्षको अन्त्यमा दोस्रो विश्व शान्ति शिखर सम्मेलनको प्रबन्ध गर्ने योजना बनाइरहेको छ । युक्रेनले जेलेन्स्कीको १० बुँदे शान्ति प्रस्तावमा आधारित नयाँ संयुक्त शान्ति योजना विकास गर्ने आशा अरू देशहरूबाट राखेको छ ।