प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनु पर्ने माग गरेका छन् ।
आज बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साउदले नेपालले आफ्नो कुटनीतिलाई परिपक्व भरपर्दो बनाउनु पर्ने बेलामा शक्तिशाली ११ राष्ट्रमा रहेका राजदूतहरू फिर्ता बोलाएको बताए । उनले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कुटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताए ।
एनपी साउदले सत्ता गठबन्धनका बीचमा भागबण्डा गरेर राजदुत नियुक्त गर्दा केहीले पद अस्वीकार गरेको र केहीले राजदूत नियुक्तिका लागि विज्ञापन गर्नुले देशको प्रतिष्ठामाथि आँच पुगेको बताए । उनले नेपालको कुटनीतिक क्षमता र विश्वसनीयतासँग नखेल्न सरकारसँग आग्रह पनि गरे । उनले बिआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा सरकारले गरेको पहल स्पष्ट रूपमा भन्नुपर्ने पनि बताए ।