नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् । यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन् ।
‘एकीकृत समाजवादीको नयाँ नेतृत्वमा अब घनश्याम भूसाल अगाडि बढ्नुहुन्छ । उहाँलाई नै झलनाथ खनालको साथ हुने भएको छ’, छलफलमा सहभागी नेता नरेश शाहीले भने ।सहमति अनुसार आगामी १६ असारदेखि काठमाडौंमा सुरु हुने दशौं राष्ट्रिय महाधिवेशनमा भूसाल पार्टी अध्यक्षको उम्मेदवार हुनेछन् । ‘उहाँहरु दुवैले अध्यक्षको दाबी गरिरहँदा केही अप्ठ्यारो परिस्थिति बनेको थियो । तत्कालीन एमाले र २०७८ भदौमा बनेको एकीकृत समाजवादीभित्र खनाल र भूसालबीच निकटको सम्बन्ध थियो ।
तर एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा खनाल र भूसाल दुवैले अध्यक्षको दाबी गरेका थिए । तर अध्यक्ष माधवकुमार नेपालले भने फेरि पनि नेतृत्वमा निरन्तर रहन प्रयत्न गरिरहेका छन् । अध्यक्ष नेपालले सर्वसम्मति नभएर चुनाव लडेर भएपनि नेतृत्वमा रहनेगरी तयारी गरिरहेका छन् ।चार दिनपछि नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।