Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई एमाले नेताहरूको आग्रह

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ । आज बुधबार नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री रवि लामिछानेलाई भेटेर काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेको हो ।

सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाडौंलगायतका २८ जिल्लामा आगामी साउन १ गतेदेखि अनिवार्य प्रयोगमा ल्याउनुपर्ने समय सीमा तोकेको छ । वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता लिनका लागि पनि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने भएपछि समयमै राष्ट्रिय परिचयपत्र नहुँदाको अवस्थामा भत्ता नरोक्न नेताहरूले माग गरेका छन् ।

काठमाडौंका पालिकाहरूमा सीमित स्रोत, साधन रहेको र समयमै सबैलाई परिचयपत्र उपलब्ध गराउन नसक्ने भन्दै समयावधिमा पुनःविचार गर्न गृहमन्त्रीलाई आग्रह गरिएको नेता श्रेष्ठले बताए । उनले आवश्यक पर्दा समय थप गर्न आग्रह गरिएको र गृहमन्त्रीले सकारात्मक रूपमा लिएको जानकारी दिए ।

उनले भने, ‘त्यो अवधिभित्र राष्ट्रिय परिचयपत्र प्राप्त गरेर नम्बर लिन नसक्दा आजसम्म लिई आएको वृद्ध भत्ता लिन पाइएन । यो ज्येष्ठ नागरिकहरूको पीडाको विषय भयो । यसलाई व्यवहारिक गर्नको लागि आवश्यक पर्दा यसको समय थप गर्नुपर्ने स्थिति पनि हुन्छ । गृह प्रशासनले पनि यसलाई सहजीकरणको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण गराइयो । गृहमन्त्रीले हाम्रो कुरालाई अत्यन्त सकारात्मक ढंगले लिनुभएको छ । कुनैपनि हालतमा व्यवहारिक रूपमा समस्या उत्पन्न हुन नदिने गरी सुझावलाई कार्यान्वयन गर्छु भन्नु भयो ।’