अफगानिस्तान र इराक युद्धबारे अमेरिकी सेनाको गोप्य कागजात सार्वजनिक गरेर विश्वभर चर्चित बनेका 'विकिलिक्स' वेबसाइटका संस्थापक जुलियन असान्ज अन्ततः १९ सय १ दिनपछि बेलायती जेलबाट रिहा भएका छन् । उनी बेलायतको लन्डनस्थित बेलमार्श जेलबाट हिजो रिहा भएका हुन् । विकिलिक्सले अमेरिकी सेनाको गोप्य कागजात सार्वजनिक गरेको यो घटनालाई अमेरिकाको सैन्य इतिहासमै सबैभन्दा ठूलो सुरक्षा त्रुटिको रूपमा लिइएको थियो । को हुन् जुलियन असान्ज ? उनले कसरी अमेरिकी सेनाको गोप्य कागजात हात पारे ?
सन् १९७१ जुलाई ३ मा टाउन्सविल, अस्ट्रेलियामा जन्मिएका विकिलिक्सका संस्थापक जुलियन असान्ज अस्ट्रेलियन प्रकाशक तथा पत्रकार हुन् । कुनै पनि विश्वविद्यालयबाट औपचारिक शिक्षा नलिएका उनी १६ वर्षको उमेरमै दक्ष ह्याकर बनेका थिए । कुनै पनि कम्प्युटरमा रहेको सूचना चोर्नु उनको सबैभन्दा रुचिको विषय थियो । सन् १९९५ मा कम्प्युटर प्रोग्रामरका रुपमा काम गरेका बेला ह्याकिङको आरोपमा जरिवाना गरिएको थियो । जतिखेर उनी दक्ष ह्याकर बन्दै थिए, त्यसबेला विश्व इन्टरनेटमा फड्को मार्दै थियो ।
सन् २००६ मा विकिलिक्स स्थापना गरेका उनले २०१० को जुलाई २५ मा आफ्नो वेबसाइटमा अफगानिस्तान र इराक युद्धबारेका अमेरिकी सेनाका ९१ हजार गोप्य कागजात सार्वजनिक गरे । त्यसको तीन महिनामै अक्टोबर महिनामा ४ लाख गोप्य सैन्य फाइल सार्वजनिक गरे । त्यसमध्ये अमेरिकी सेनाद्वारा सन् २००७ मा अपाचे हेलिकोप्टरद्वारा गरिएको आक्रमणको भिडियो पनि थियो । उक्त आक्रमणमा रोयटर्सका २ पत्रकारसहित ११ जना मारिएका थिए । यही घटनापछि अमेरिकी सरकारले उनीमाथि निगरानी बढाउँदै पक्राउ गरेको थियो ।
असान्जलाई पूर्वसैन्य खुफिया विश्लेषक चेल्सी मेनिङले उक्त गोप्य कागजात दिएको र सार्वजनिक गरेकोमा दोषी ठहराइएको थियो । यो चुहावटलाई अमेरिकाको सैन्य इतिहासमै सबैभन्दा ठूलो सुरक्षा त्रुटिको रूपमा लिइएको थियो । असाञ्जले सन् २०१० देखि कानुनी चुनौतीको सामना गर्दै आएका थिए । पहिलोपटक उनलाई यौन अपराधको आरोपमा स्वीडिस अदालतले पक्राउको आदेश दियो । पछि जमानतमा रिहा भए ।
सन् २०१२ पछि उनले बेलायतस्थित इक्वेडरको दूतावासमा ७ वर्ष राजनीतिक शरण लिए । इक्वेडरले राजनीतिक शरण लिन अस्वीकार गरेपछि २०१९ मा बाहिर आएका बेला उनलाई पक्राउ गरी कडा सुरक्षा घेरा रहेको लन्डनस्थित बेलमार्श जेल लगिएको थियो, जहाँ उनले करिब पाँच वर्ष बिताए । त्यही जेलमा रहँदा उनले बिहे पनि गरेका थिए ।
उनले अमेरिकी अदालतमा अमेरिकी सेनाको गोप्य कागजात चोरेको विषयलाई स्वीकार गर्ने सहमति जनाएपछि बेलायती अदालतले २४ जुनमा रिहा गरेको हो । उनको मुद्दाको अन्तिम सुनुवाइ बुधबार अमेरिकी मारियाना टापुको अदालतमा हुँदैछ । प्रमाणका आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै करिब ६२ महिनाको जेल सजाय तोक्नेछ । तर, उनले लन्डनको जेलमा पाँच वर्ष बिताइसकेका कारण उनको ६२ महिने जेल सजाय कट्टा हुने बताइएको छ । त्यसपछि उनी स्वतन्त्र रुपमा आफ्नो घर अस्ट्रेलिया फर्कन सक्ने छन् ।