Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

काठमाडौंमा कवाड व्यवसायीको प्रदर्शन

काठमाडौं महानगरपालिकाको डोजर आतंक बन्द गर्न माग गर्दै कवाड व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । कवाड हटाउने निर्णयको विरोध गर्दै कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा आइतबार माइतीघरमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरिएको हो ।

आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले चक्रपथभित्रका कवाड हटाउने निर्णय गरिएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले बताएका छन् । काठमाडौं महानगरले अदालतको आदेश समेत नमानेको भन्दै कवाड व्यवासायीले गरिबलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिए ।

कबाड व्यवसायी संघर्ष गठन गरेका उनीहरुले छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गरजस्ता प्लेकार्ड बोकेका थिए । रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गरिएको संघर्ष समितिले जनाएको छ । काठमाडौं महानगरका नगर प्रहरीले जबरजस्त शैलीमा आफूहरूलाई विस्ताथापित गराउन खोजेको व्यवसायीहरूको आरोप छ ।

जनप्रतिनिधिहरुले कबाड संकलन केन्द्रका कारण धेरै असुरक्षा भएको गुनासो आएका कारण नक्सापास नगरी राखिएका कबाड संकलन केन्द्रमा यसअघि डोजर चलाइएको महानगरको भनाइ छ महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो । महानगरका अनुसार महानगरभित्र ९० वटा कबाडी संकलन केन्द्र रहेको र ३२ वटै वडामा कतै पनि कवाडी व्यवसाय राख्न नदिने नीति महानगरको छ ।