Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सात दिनदेखि बेपत्ता रुबीको शव फेला, श्रीमानले हत्या गरेको पुष्टि

धनुषाको मिथिला नगरपालिकामा एक महिलाको शव फेला परेको छ । महेन्द्रनगरबाट गत जेठ २६ गतेदेखि बेपत्ता भएकी महिलाको शव मिथिला नगरपालिकामा शनिवार राति सामुदायिक वनको खोल्सामा फेला परेको हो ।

शव फेला पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुबी यादव रहेको धनुषाका प्रहरी नायब उपरिक्षक एवं प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिए । गत जेठ २६ गतेदेखि बेपत्ता रहेकी रुबीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । उनको हत्या श्रीमान् राजु यादवले गरेको पुष्टि भएको भन्दै राजुलाई इलाका प्रहरी कार्यालय सखुवाले गत बिहीबार नै नियन्त्रणमा लिएको अवाले बताए ।

उनले भने, ‘मृतक रुबीका श्रीमान राजु यादवले जेठ २७ गते बिहान श्रीमति जेठ २६ गतेदेखि घर नफर्केको भन्दै निवेदन दिएका थिए । घटना शङ्कास्पद देखिएपछि उनकै निवेदनको आधारमा निगरानी बढाइएको थियो । पछि छरछिमेकमा सोधपुछ गर्दा राजुलाई नियन्त्रणमा लिइएको र उनले श्रीमतिको हत्या गरेको स्वीकारेका छन् ।’

उनले सोधपुछको क्रममा राजुले बयानमा श्रीमतीको हत्याबारे जानकारी दिएपछि शव फेला परेको पनि बताए । जेठ २६ मा बिहानै राजुले औरही बाबाको दर्शन गर्न भनी श्रीमती रुबीलाई लगेर हत्या गरेको बयानका क्रममा भनेको र अुसन्धान सुरु भएको पनि प्रहरी निरीक्षक अवाले बताए । हाल रुबीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।