Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सरकारको विपद पूर्व तयारी सन्तोषजनक भएनः सांसद भट्टराई

सत्ता साझेदार नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले सरकारको विपद पूर्व तयारी सन्तोषजनक नरहेको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जलवायु परिवर्तनका कारण पूर्व अनुमान नै गर्न नसक्ने गरी मौसमहरु प्रतिकूल हुँदै जाने, त्यसको असर आम मानिसहरुमा परिरहेको बताए । उनले विपद् पूर्व तयारीबारे सरकारको तयारी सन्तोषजनक नरहेको बताए । विपद् प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको उनले बताए । प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्याइएको र १५ करोड साधारण खर्च रहेको भन्दै प्राधिकरणले सो बजेटमा कुनै काम गर्नसक्ने अवस्था नरहेको बताए । विपद् उद्धारका लागि दक्ष जनशक्ति र पर्याप्त श्रोत साधन पनि नरहेको बताए ।

उनले भने, ‘जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसमहरु प्रतिकूल हुँदै जाने, त्यसको असर आम मानिसहरुमा परिरहेको छ । तर त्यस आधारमा हाम्रो नेपालको, विशेष गरीकन सरकारको तयारी त्यति सन्तोषजनक छैन । विपद् प्राधिकरण बनाएका छौँ, यो कामको निम्ति, जम्मा वार्षिक १८ करोड बजेट विपद् प्राधिकरणलाई दिइएको छ, जसमा १५ करोड साधारण खर्च छ । तलव भत्ता, पारिश्रमिकमा छ । जम्मा ३ करोड रुपैयाँले विपद् प्राधिकरणले के गर्नसक्छ? त्यसै गरीकन हामीसँग दक्ष जनशक्ति छैन । हामीसँग आधुनिक साधनहरु छैनन् । जसले समयमै उद्धार हुनसक्ने अवस्थामा पनि हामीले गर्न सकिरहेका छैनौं । सरकारले गर्न सकिरहेको छैन ।’

सचिव भट्टराईले भूकम्पलाई छोडेर बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक विपत्तिबाट वार्षिक ५ सय मानिसको अकालामा मृत्यु हुने गरेको भन्दै सरकारले गम्भीरताका साथ व्यवस्थापन गर्न माग गरे ।