Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बैंक तथा वित्तीय संस्थाको १० महिनाको नाफा ५३ अर्ब बढी, कसको कति?

चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब बढी नाफा कमाएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको वैशाखसम्म (क), (ख)र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरूले कुल ५३ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

यसमा (क)वर्गका वाणिज्य बैंकले यो अवधिमा ४८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । त्यस्तै विकास बैंकले ४ अर्ब १७ करोड र फाइनान्स कम्पनीहरूले ४१ करोड रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक पहिलो नम्बरमा छ भने नेपाल बैंक नाफाका आधारमा पछाडि छ ।

चालु आवको १० महिनामा नबिल बैंकले ५ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेर अग्रस्थानमा आउँदा सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेड ५९ करोड रुपैयाँसहित अन्तिम स्थानमा छ । यस्तै नाफा कमाउनेमा ४ अर्ब १२ करोड रुपैयाँसहित ग्लोबल आईएमई बैंक दोस्रो नम्बरमा छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ३ अर्ब ७७ करोड रुपैयाँसहित तेस्रो नम्बरमा छ ।

प्राइम बैंकले ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाउँदा एभरेस्ट बैंकले २ अर्ब ९८ करोड रुपैयाँ र कृषि विकास बैंकले २ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६६ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५६ करोड रुपैयाँ, प्रभु बैंकले २ अर्ब ५० करोड रुपैयाँ, एनएमबी बैंकले २ अर्ब ४८ करोड, हिमालयन बैंकले २ अर्ब २२ करोड र एनआईसी एसिया बैंकले २ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका छन् ।

यी बाहेकका बैंकहरूले भने नाफामा २ अर्बको क्लबमा पुग्नसकेका छैनन् । यसअनुसार सिद्धार्थ बैंकले १ अर्ब ९७ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंक १ अर्ब ९५ करोड, सिटिजन्स बैंक १ अर्ब ५० करोड, कुमारी बैंक १ अर्ब ४२ करोड, नेपाल एसबीआई बैंक १ अर्ब ४२ करोड रुपैयाँ र माछापुच्छ्रे बैंक १ अर्ब १० करोड रुपैयाँ नाफामा देखिएका छन् ।

सबैभन्दा थोरै नाफा कमाउनेमा भने नेपाल बैंक छ । यो बैंकले चालू आवको १० महिनामा ५९ करोड रुपैयाँ नाफा कमाएको छ । तुलनात्मक रुपमा नेपाल बैंकको नाफा विकास बैंकको नाफाभन्दा कम देखिन्छ। मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकको नाफा नेपाल बैंकभन्दा बढी छ ।

विकास बैंकतर्फ भने मुक्तिनाथ र गरिमा अगाडि छन्। चालू १० महिनामा मुक्तिनाथ विकास बैंक ९९ करोड रुपैयाँ नाफासहित अगाडि छ भने दोस्रो नम्बरमा ७५ करोड रुपैयाँसहित गरिमा विकास बैंक छ । यस्तै वित्त कम्पनीहरूमा भने २० करोड रुपैयाँ नाफासहित मन्जुश्री फाइनान्स कम्पनी सबैभन्दा अगाडि छ । समग्रमा चालु १० महिनामा सर्वाधिक कमाउनेमा वाणिज्य बैंकतर्फ ५ अर्ब ४६ करोड रुपैयाँसहित नबिल बैंक, विकास बैंकतर्फ झण्डै एक अर्ब रुपैयाँसहित मुक्तिनाथ विकास बैंक र फाइनान्सतर्फ २० करोड रुपैयाँसहित मन्जुश्री फाइनान्स कम्पनी अगाडि छन् ।