आउँदो असार ६ गते प्रतिनिधिसभा बैठकमा प्रधनमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । संसद सचिवालयले संसदीय क्यालेण्डर सार्वजनिक गर्दै असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जनाएको हो ।
प्रतिधिसभा नयिमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ । जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धति महत्वपूर्ण वषियमा प्रश्न सोध्न सभामुखले प्रत्येक महनिाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ । जेठ महिनामा भने प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन सकेको थिएन ।
त्यस्तै असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि सामान्य छलफल सकिएको छ । आज मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु भएको छ । असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्ने र सोही दिन बजेट पारित गर्ने संसदीय क्यालेण्डरमा उल्लेख छ ।