‘भारतमा प्रधानमन्त्रीलाई मुख्यमन्त्री सरह सम्मान भयो, किन?’
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सहकारी ठगीका आरोपित जीबी राईलाई सरकारले देशभन्दा पनि माथि राखेको आरोप लगाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले ठूला फाइल खोल्छौं भन्ने सरकारले राईलाई नेपाल देशभन्दा पनि माथि राखेको बताए । ‘ठूलो फाइल खोल्छौं खोल्छौ भन्नुहुन्छ । गिरीबन्धुको फाइल कहिले खोलिन्छ रु मेलम्ची र वाडडबडी जस्ता ठूला काण्डका फाइल कहिले खुल्छन्?’
शाहीले भने, ‘सहकारी ठगीमा जोडिएका जीबी राई नेपाल देशभन्दा ठूलो हुन्? जीबी राईलाई किन पक्राउ गरिएको छैन? छिटो पक्राउ गरियोस् । फाइल खोल्छु, आकाश र पातालमा खोजेर भए पनि ल्याउँछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो । खोई खोजेको हो?’ शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणमा जाँदा प्रदेशका मुख्यमन्त्रीको जति पनि सम्मान नपाएको बताए ।
‘भारतमा प्रधानमन्त्रीलाई मुख्यमन्त्री सरह सम्मान भयो, किन?’
सांसद शाहीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्मान नभएको बताएका छन् । सांसद शाहीले भारतमा प्रधानमन्त्रीलाई दिइएको सम्मानमाथि प्रश्न उठाएका हुन् । उनले कुनै प्रदेशको मुख्यमन्त्री भारतीय प्रधानमन्त्रीको शपथमा हाजिर गर्न गएको जस्तो देखिएको बताए ।
‘उहाँ व्यक्तिगत रुपमा पुष्पकमल दाहालको रुपमा नगएर नेपालको प्रधानमन्त्रीको हैसियतले जानुहुन्छ । भारतले गरेको आत्मसम्मान त्यो प्रधानमन्त्रीलाई गरेको हो कि नेपाललाई गरेको हो?,’ उनले भने, ‘त्यो सम्मान हेर्दा कुनै प्रदेशको मुख्यमन्त्री भारत गइरहेका छन्, त्यहाँको प्रधानमन्त्रीको शपथमा हाजिर गरिरहेका छन् ।’