Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एसईई नतिजा असार दोस्रो साताभित्र

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताए ।

उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारीसमेत दिए । गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको बोर्डले यस वर्ष १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको भन्दै परीक्षा नियन्त्रक पौडेलले यसवर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर सार्वजनिक गरिने बताए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने जनाइएको छ । गत चैत १५ गतेदेखि सुरु भएको यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।