Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सुदूरपश्चिममा स्वतन्त्र सांसद जोशीले गरे मन्त्री पद अस्वीकार

सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले सरकारमा मन्त्री बन्न अस्वीकार गरेका छन् । मुख्यमन्त्री दीर्घ सोडारीले डा. जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए । तर गठबन्धनका धेरै सांसदहरूलाई मन्त्री बनाउन मन्त्रालय फुटाउने तयारी भएपछि उनले मन्त्री बन्न अस्वीकार गरेका हुन् । सुदूरपश्चिम प्रदेशमा नव नियुक्त मन्त्रीको शपथ ग्रहण चलिरहेका बेला डा। जोशी शपथ लिन गएनन् । डा. जोशीले मन्त्रालय फुटाएर सरकार बनाउनु उचित नहुने बताएका छन् ।

उनले भने, ‘मलाई व्यवस्थापन गर्न मन्त्रालय फुटाउनु पर्दैन । बरु म मन्त्री बन्दिन, अरुलाई नै मन्त्री बनाऊन् ।’ सोमबार मुख्यमन्त्री सोडारीले सत्ता गठबन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट समेत मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्री बनाएका छन् भने वीरबहादुर थापा र हिरा सार्कीलाई विना विभागीय मन्त्री बनाएका छन् ।


माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्री तथा अक्कलबहादुर रावल र लक्ष्मी विकलाई विना विभागीय मन्त्री बनाइएको छ । एकीकृत समाजवादीकी माया पन्तलाई विना विभागीय मन्त्री बनाइएको छ । यसअघि मुख्यमन्त्री सोडारीले नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।