Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्‍यो भने विपक्षमा २८ मत परेको छ । पाण्डेका पक्षमा ३१ सांसदले मत दिएकाले विश्वासको मत प्राप्त भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।

पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिएका हुन् ।

एमालेका २२ र माओवादी ६ सहित २८ सांसदले पाण्डेले मागेको विश्वासको प्रस्तावका विपक्षमा मत हालेका छन् । देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरे । फ्लोर क्रस गर्नु संसदीय विकृति भएको भन्दै एमाले सांसदहरूले नाराबाजी गरेका हुन् ।